काठमाडौं । इजरायल पठाउने भन्दै साढे २ करोड बढी ठगी गरेका ४ जनाविरुद्ध जाहेरीदिन सीआईबीले पीडितहरूलाई आह्वान गरेको छ । प्रधानमन्त्रीका सल्लाहकारको नाम र नक्कली सरकारी कागजात प्रयोग गरी ठगेको आरोपमा रामेछाप कांग्रेस र दोलखाकी पत्रकार नेतासहित ४ जना पक्राउ गरेर सीआईबीले पीडितलाई उजुरी दिन आग्रह गरेको हो ।
जीटूजीबाट इजरायलमा केयरगिभरमा पठाइदिने प्रलोभन देखाई साढे दुई करोड रूपैयाँभन्दा बढी ठगी आरोपमा पक्राउ परेका रामेछापका भरत चौलागाईँ, बालिका शिवाकोटीसहित चारजनाविरुद्ध प्रहरीले पक्राउ गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक सूचना जारी गर्दै आवश्यक प्रमाणसहित यथाशीघ्र जाहेरी दरखास्त दिन भनेको छ । रामेछाप, सुनापति गाउँपालिका—१ घर भई हाल काठमाडौं बस्दै आएका ५९ वर्षीय चौलागाईँ कांग्रेस नेतासमेत हुन् । बालिका कांग्रेससम्बद्ध प्रेस युनियनकी केन्द्रीय सदस्य हुन् ।
सन् २०२४ मा इजरायलको केयरगिभर रोजगारीका लागि सञ्चालित परीक्षा उत्तीर्ण भई प्रतीक्षा सूचीमा रहेका परीक्षार्थीहरूको मानसिक तनाव र बाध्यताको फाइदा उठाउँदै उक्त गिरोहले योजनाबद्ध रूपमा ठगी गरेको पाइएको छ । परीक्षामा उत्तीर्ण ३४६१ मध्ये ११५२ जना प्रतीक्षा सूचीमा रहेकोमा उनीहरुसँगैबाट मन्त्रिपरिषद्को फर्जी कागजात देखाएर ठगी भएको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply