नेपाल विश्व आर्थिक स्वतन्त्रताको ९० औँ स्थानमा !

काठमाडौं । नेपाल विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन अनुसार एक स्थान तल झरेको छ । समृद्धि फाउन्डेसनले क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रताः २०२६ वार्षिक प्रतिवेदन अनुसार नेपाल १६५ देशमध्ये ९० औँ स्थानमा रहेको छ ।

गत वर्ष नेपाल ८९ औँ स्थानमा रहेकोमा एक स्थान स्तर खस्किएको छ । समृद्धि फाउन्डेसनले नेपालमा यो वार्षिक प्रतिवेदन सार्वजनिक यो लगातार १९ औँ पटक हो ।उच्च स्तरको आर्थिक स्वतन्त्रता भएका देशमा बसोबास गर्ने मानिसहरूले बढी समृद्धि, बढी राजनीतिक तथा नागरिक स्वतन्त्रता र लामो आयु प्राप्त गर्छन् भन्ने अनुसन्धानका क्रममा यो प्रतिवेदन तयार गर्नेगरिन्छ । आर्थिक स्वतन्त्रताको माथिल्लो २५ प्रतिशतमा रहेका देश संयुक्त अधिराज्य, जापान र आयरल्यान्डलगायतमा सन् २०२४ मा प्रतिव्यक्ति औसत आय ६५,५९६ अमेरिकी डलर रहेको देखिएको छ । तल्लो २० प्रतिशत भित्र परेका देश भेनेजुएला, इरान र सुडानलगायतका देशको यस्तो आय ९,५५२ अमेरिकी डलर छ ।

आर्थिक स्वतन्त्रताको उच्च २५ प्रतिशत भित्र रहेका देशहरूको औसत आयु ८०.७ वर्ष रहेको छ भने तल्लो २५ प्रतिशत भित्र रहेका देशहरूको औसत आयु ६७.१ वर्ष रहेको अध्ययनले देखाएको छ । ६ दशकलब ५९ अङ्क प्राप्त गर्दै नेपाल १६५ देशमध्ये ९० औँ स्थानमा रहेको छ । विश्वव्यापी वरीयतामा नेपाल एक स्थान तल झरेपनि नेपालको आर्थिक स्वतन्त्रताको अङ्क कोभिड–१९ महामारीको अवधिमा आएको गिरावटबाट पूर्ण रूपमा सुधार भएको देखाइएको छ ।